काठमाडौं— परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताए।
मानव अधिकार परिषद्को बुधबार जेनेभामा सम्पन्न युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर) कार्य समूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार परराष्ट्रसचिव राईले नागरिक, राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको प्रवद्र्धन र संरक्षणका साथै लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमार्फत मानव अधिकारको क्षेत्रमा नेपालले हासिल प्रगतिबारे जानकारी गराए।
उक्त सत्रमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, स्विटजरल्याण्डका लागि नेपालका राजदूत रामप्रसाद सुवेदी, परराष्ट्र मन्त्रालय तथा जेनेभास्थित नेपाली नियोगका वरिष्ठ अधिकारी सहभागी थिए।






































