मोरङं— मोरङको विराटनगर महानगरपालिका–४ बाट लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
माघ ६ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा को ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा सवार शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ निवासी ३५ वर्षीय सुदिन मन्सुरी रहेका छन्। उनको साथबाट १४० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, इटहरी उपमहानगरपालिका–५ निवासी ५० वर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार कार्कीको कोठाबाट १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, नाइट्राजाम ४६० ट्याब्लेट, कोरेक्स १८ बोतल र स्पास्मोप्रोक्सिवन ३३६ क्याप्सुल बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।






































