काठमाडौं— ६० केजी सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका चार जना सर्वोच्च अदालत पुगेका छन् । थुनामा रहेका भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयल, मनोजराज श्रेष्ठ, चिनियाँ नागरिक कुङ्गा टासी शेर्पा भनिने गेङ्गा शाशी, मिङ सिङ टेरेन्स सी जिल्ला र उच्चको आदेश बदरको माग राख्दै सर्वोच्च पुगेका हुन् ।

काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर उच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेपछि चारै जना सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा चारै जनाले दिएको निवेदन एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ ।

चीनबाट स्कूटरको ब्रेक शुमार्फत सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले गरेको दोस्रो चरणको अनुसन्धानका क्रममा प्रतिवादीहरू पक्राउ परेका थिए । चिनियाँ नागरिक गेङ्गाले कुङ्गा टासी शेर्पाको नाममा नेपाली नागरिकता लिएका व्यक्ति हुन् । उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटै जारी भएको देखिन्छ । सोही नाममा सवारीचालक अनुमतिपत्र पनि जारी भएको पाइएको थियो । सवारीचालक लाइसेन्समा बुबाको नाम आङ नोर्बु शेर्पा लेखिएको छ ।

सिआइबीले चिनियाँ नागरिक शेरब ग्याल्मोलाई ६ केजी सुन र ४८ लाख रुपैयाँसहित बौद्ध तीनचुलीबाट पक्राउ गरेको थियो । उनीसँग पनि नेपाली नागरिकता फेला परेको थियो । सोनाम गुरुङको नाममा जारी भएको नागरिकता मुस्ताङको लोमान्थाङबाट झिकिएको थियो ।