काठमाडौं— नक्कली राइफल र पेस्तोल बोकेर हिँडिरहेका दुई जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले गएराति उनीहरूलाई नक्कली हतियारसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा स्थायी घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षीय किरण घिमिरे र अछाम स्थायी घर भई काठमाडौंको जडीबुटी क्षेत्रमा बस्दै आएका कुमार लोहार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट थ्री नट थ्री राइफलजस्तै देखिने डमी लामो हतियार एक थान, कटुवा पेस्तोलजस्तै देखिने डमी सानो हतियार दुई थान, खुकुरीजस्तै फलामले बनेका दुई थान हतियार तथा एक थान मोटरसाइकल बरामद गरिएको छ।

सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दा बागमती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको यामाहा एफजेट मोटरसाइकल किरण घिमिरेको नाममा दर्ता रहेको खुलेको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा काठमाडौं महानगरपालिका–३२ स्थित सांस्कृतिक नृत्य कला केन्द्रमा लुकाएर राखिएको अवस्थामा ती सामग्री फेला परेको प्रहरीको भनाइ छ।