रामेछाप— सिन्धुलीको दुधौली नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

दुधौली नगरपालिका–१० स्थित खत्रीचोक नजिकैको भित्री सडकखण्डमा बुधबार बिहान दुर्घटनामा परी गम्भीर घाइते भएका चालक यज्ञबहादुर सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार थोत्रीबाट मदन भण्डारी राजमार्गतर्फ आउँदै गरेको मधेश प्रदेश ०१–००५ प ५४२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा करिब ३० वर्षका चालक सुनुवार गम्भीर घाइते भएका थिए । उनको निधार, मुख र अनुहारमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी बिहान करिब ६ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेको थियो।

घाइते सुनुवारलाई तत्काल उपचारका लागि नगर अस्पताल सिर्थौली पठाइएकोमा उपचारकै क्रममा बिहान करिब ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।