काठमाडौं— पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गएराति भारतीय नम्बर प्लेटको कन्टेनरले जथाभाबी 'ओभरटेक' गर्दा उक्त दुर्घटना भएको हो।
सुनौलीबाट पूर्वतर्फ आइरहेको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा अन्य सवारीसाधनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । दुर्घटनामा परी मोटरसाइकल चालक कालिकोटका ३० वर्षीय अमर कार्की र पछाडि सवार २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्।
त्यसैगरी, ठक्करबाट यात्रीवाहक बसमा सवार अन्य ६ जना पनि घाइते भएका छन्। घाइते हुनेहरूमा बस चालक शङ्कर विष्ट (रोल्पा), विनोदकुमार अछामी (रामेछाप), उदीराम विष्ट (रोल्पा), नाम्नुहाङ राई (धरान), दर्शन पोख्रेल (रोल्पा), चन्द्रसिंह थापा (सुनसरी) र ६० वर्षीय यज्ञप्रसाद भुसाल (प्युठान) रहेका छन्।
प्रहरीका अनुसार घाइते सबैको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। दुर्घटना गराउने कन्टेनरका चालक भने घटनास्थलबाट फरार भएका छन् र उनको खोजी कार्य तीव्र पारिएको छ। दुर्घटनाका कारण केही समय अवरुद्ध भएको राजमार्गलाई सुचारु गराउन प्रहरीले प्रयास गरिरहेको छ।






































