काठमाडौं— सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा गत शनिबार मृत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशा विक को बलात्कारपछि हत्याको घटना प्रहरी र प्रारम्भिक अनुसन्धानका आधारमा पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरेको जनाएको छ।
सो घटनाले देशभर नै विरोध प्रदर्शनलाई तिब्र पारेको छ। आज काठमाडौंको माइतीघर मण्डला देखि बानेश्वर सम्म र्याली निकालेर युवाहरु, दलित अधिकारकर्मी, विद्यार्थी र सामाजिक अभियन्ताहरुले पीडकलाई कडा कारबाही गर्न र सामाजिक रूपले बढ्दो महिला तथा दलितमाथि हिंसा रोक्न सरकारलाई माग गरेका छन्।
प्रदर्शनमा सहभागीहरुले ‘इनिशालाई न्याय दे, महिला हिंसा अन्त्य गर, पितृसत्ता मुर्दावाद, हत्यारालाई कारबाही गर’ लगायतका नारा लेखिएका पोस्टर तथा प्लेकार्ड बोकेका थिए। उनीहरुले बलात्कार र हत्या जस्ता जघन्य अपराधलाई रोक्न प्रभावकारी कानून र सामाजिक सचेतनाको आवश्यकता औँल्याएका छन्।
प्रदर्शनकारीहरुले दोषीलाई तत्काल न्याय दिलाउन, निष्पक्ष छानबिन गर्न र दलित समुदायविरुद्ध हुने हिंसात्मक घटना अन्त्य गरिनुपर्ने सार्वजनिक माग गरेका छन्। यसैबीच, यस घटना प्रति राजनीतिक नेताहरु, कलाकार तथा समाजका विभिन्न तहबाट पनि कडा आलोचना र न्यायको माग उठिरहेको छ।






































