हेटौँडा— हेटौँडा उपमहानगरपालिका–९ अन्तर्गत HID क्षेत्र आसपास पछिल्ला केही दिनदेखि चितुवा देखिएको सूचना प्राप्त भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार हिजो राति करिब १०ः१९ बजेतिर हेटौँडा सिमेन्ट रोड नजिकको सडक हुँदै एउटा चितुवा जङ्गलतर्फ जाँदै गरेको देखिएको हो । सो क्षेत्रमा केही दिनयता चितुवा आवतजावत गरिरहेको जानकारी स्थानीय बासिन्दाले दिएका छन् ।

मानव बस्ती नजिक चितुवा देखिन थालेपछि स्थानीयवासी मा त्रासको अवस्था उत्पन्न भएको छ । घटनाबारे सम्बन्धित निकाय तथा सुरक्षाकर्मीलाई जानकारी गराइएको जनाइएको छ ।

स्थानीय बासिन्दालाई रातिको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, बालबालिका तथा घरपालुवा जनावरको विशेष ख्याल राख्न र चितुवा देखिएमा नजिक नजान अनुरोध गरिएको छ ।

यसैबिच, हेटौँडा उपमहानगरपालिका–९ का वडा अध्यक्ष सुक्रम केसीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उहाँसँग फोन सम्पर्क हुन सकेन ।

उक्त विषयमा डिभिजन वन कार्यालय हेटौँडामा जानकारी पुगेको र कार्यालयले आवश्यक तयारी गरिरहेको जनाइएको छ । साथै, यस्ता घटना देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।