उदयपुर—  जिल्ला अस्पताल उदयपुरमा रेबिजविरुद्ध लगाइने एन्टी–रेबिज खोपको अभाव भएको छ। सरकारी कोटाअनुसार आउने खोपको आपूर्ति हुन नसक्दा अस्पतालमा खोप सेवा प्रभावित भएको हो।

अस्पताल प्रशासनका अनुसार विगत करिब १५ दिनदेखि खोपको मौज्दात सकिएको छ। खोप उपलब्ध नभएपछि अस्पतालले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि खोप सेवा स्थगित गरिएको जनाएको छ। यसका कारण बिरामी तथा सेवाग्राहीहरू महँगो शुल्क तिरेर निजी क्लिनिकमा खोप लगाउन बाध्य भएका छन्।

खोप आपूर्तिको व्यवस्था इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत् कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र हुँदै जिल्ला अस्पतालसम्म आउने गरिन्छ। तर हाल आवश्यक मात्रामा खोप नआएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रशासन प्रमुख भगवती खतिवडाका अनुसार खोपको मात्रा बढाइदिन प्रदेश आपूर्ति केन्द्रमा पत्राचार गरिएको भए पनि अहिलेसम्म खोप प्राप्त हुन सकेको छैन।

सरकारी अस्पतालमा सहुलियत दरमा पाइने सेवा बन्द हुँदा न्यून आय भएका नागरिकहरू आर्थिक रूपमा थप मारमा परेका छन्। अस्पतालमा रेबिज खोप मात्रै होइन, निःशुल्क तथा सशुल्क वितरण हुने केही औषधिको समेत स्टक सकिएको जनाइएको छ।

अस्पतालले समयमै औषधि खरिदको भुक्तानी नगर्दा सप्लायर्सहरूले औषधि उपलब्ध गराउन छाडेको बताइएको छ। हाल बीमा कार्यक्रमअन्तर्गत वितरण हुने नियमित औषधि समेत अस्पताल फार्मेसीमा अभाव रहेको जनाइएको छ।