काठमाडौं— पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।
नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको उपस्थितिमा मोटरसाइकल हस्तान्तरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव निरौलाले पर्यटक सुरक्षालाई पर्यटन विकासको आधारभूत स्तम्भको रूपमा व्याख्या गर्दै भने, ‘पर्यटक सुरक्षित भए मात्र गन्तव्य विश्वसनीय बन्छ । आज हस्तान्तरण गरिएका यी साधनहरूले पर्यटक प्रहरीको पहुँच र प्रतिक्रिया क्षमतालाई थप प्रभावकारी बनाउने विश्वास लिएको छु ।’
उनले नेपाललाई सुरक्षित, विश्वसनीय र जिम्मेवार पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको उल्लेख गरेका छन् ।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत जोशीले बोर्डले पर्यटन पूर्वाधार र सेवा सुदृढीकरणमा निरन्तर काम गरिरहेको उल्लेख गरे । उनले भने, ‘पर्यटक प्रहरीलाई सशक्त बनाउनु भनेको समग्र पर्यटन प्रणालीलाई बलियो बनाउनु हो । यी मोटरसाइकलहरूले दुर्गम र व्यस्त पर्यटकीय क्षेत्रहरूमा छिटो सेवा प्रवाह गर्न मद्दत पु¥याउनेछन् ।’
त्यसैगरी पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले हस्तान्तरणप्रति आभार व्यक्त गर्दै यसले पर्यटन क्षेत्रमा आकस्मिक उद्धार तथा संकट व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । ‘यसले पर्यटकको विश्वास अभिवृद्धि गर्नुका साथै नेपालको पर्यटन छविलाई अझ सकारात्मक बनाउनेछ,’ उनले भने ।
कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, बोर्ड सदस्यहरू नरेन्द्रदेव भट्ट र राजेन्द्र लामा, साथै पर्यटक प्रहरी प्रमुख डीएसपी कृष्णराज ओझा लगायतको उपस्थिति रहेको थियो ।
नेपालमा पर्यटक प्रहरीलाई विशेष सुरक्षा निकायका रूपमा परिचालन गर्दै पर्यटकहरूको सुरक्षादेखि लिएर सूचना, सहयोग तथा उद्धारसम्मका कार्यहरू गर्दै आएको छ । नयाँ सवारी साधनको उपलब्धतासँगै पर्यटक प्रहरीको सेवा प्रवाह अझ तीव्र र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।




































