ललितपुर— नख्खिपोट क्षेत्रमा भाडाको घर लिएर जुवा सञ्चालन गरिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले जुवा र होहल्लाको सूचना पाएपछि छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार, शेरबहादुर थापाको घर भाडामा लिएर अवैध रूपमा जुवा खेलाउने गतिविधि भइरहेको पाइएको छ। सोही क्रममा पाँचथर घर भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएकी ४० वर्षीया योजना लिम्बु सहित ६ जना पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ३६ हजार ९५० रुपैयाँ र २४ बुक तास बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र म्याद थपपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ।






































