काठमाडौं— राइड सेयरिङ कम्पनीहरूले चालकहरूमाथि श्रम शोषण गरेको आरोप लगाउँदै चालकहरू सडक आन्दोलनमा उत्रिएका छन्।
‘स्वतन्त्र चालक फाउन्डेसन नेपाल’को आयोजनामा सोमबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका चालकहरूले विभिन्न स्थानमा प्रदर्शन गरेका हुन्। मोटरसाइकल र स्कुटरसहित ठूलो संख्यामा सहभागी भएका चालकहरूले कम्पनीहरूको नीतिप्रति असन्तुष्टि जनाउँदै नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले आफूहरूलाई उचित पारिश्रमिक नदिइएको, सेवा शुल्क अत्यधिक काटिएको तथा कामको समय र सुरक्षासम्बन्धी कुनै स्पष्ट व्यवस्था नभएको गुनासो गरेका छन्। उनीहरूले श्रम अधिकार सुनिश्चित गर्न, पारदर्शी नीतिहरू लागू गर्न र कम्पनीहरूसँग औपचारिक संवादको व्यवस्था गर्न माग गरेका छन्।






































