कविता :'विद्रोह '

-देशबन्धु  क्षेत्री 


नागरिकता पुरिएको बस्तीमा

माटोले चिच्याइरहेको छ—

'हामी छौँ, 

हामी जिउँदै छौँ!'


सिमसिम पानीले धोइरहेको छैन पीडा,

बरु झन्  प्रष्ट देखाइरहेको छ

राज्यको संवेदनहीन अनुहार।


त्यहीँ, चिसो हावासँग काँप्दै

जीर्ण अस्थिपंजर जस्तो 

जीवन बोकेर

मिनाकुमारीहरु 

 उभिएकी छन्—

आँखाभरि प्रश्न, हातभरि खालीपन,

र मनभरि अधुरो अस्तित्व बोकेर ।


उनीहरु खोजिरहेकी छिन्—

कुनै सुन होइन, कुनै सम्पत्ति होइन,

एउटा कागज—

तर त्यो कागज होइन केवल कागज,

त्यो हो नाम, पहिचान,

अधिकारको ढोका खोल्ने साँचो- नागरिकता ।


तर डोजरले बुझेन

कागज र अस्तित्वबीचको सम्बन्ध।

डोजरले देखेन

किताबका पानामा लुकेको भविष्य,

नागरिकतामा लेखिएको जीवन।


तयारीविहीन निर्णयका फलस्वरूप

राज्यले चलायो आफ्नो शक्ति—

तर त्यो शक्ति संरक्षणका लागि होइन,

दमनका लागि थियो।


टहरा भत्किए,

तर त्योसँगै भत्कियो भरोसा।

माटोमा पुरिए

बालबालिकाका सपनाहरु ,

आमाबाबुको संघर्ष,

र सिङ्गो पुस्ताको आशाहरु ।


वर्षा हुँदै थियो—

तर त्यो पानी

आकाशको आँसुजस्तो लाग्थ्यो,

जसले सोधिरहेको थियो—

“यो न्याय हो?”


विकासको नाममा

जब मान्छे विस्थापित हुन्छ,

त्यो विकास होइन,

त्यो विनाश हो।


जब राज्यले आफ्नै नागरिकलाई

बाधा ठान्छ,

त्यो शासन होइन,

त्यो अत्याचार हो।


सुकुम्वासी भनेर

मानव अधिकार खोस्न पाइँदैन,

गरिबी अपराध होइन,

तर राज्यको संवेदनहीनता

पक्कै अपराध हो।


मिनाकुमारीहरुको मौनता

कमजोरी होइन—

त्यो हो आँधीअगाडिको शान्ति हो ।


आज उनीहरु चुप छिन्,

भोलि आवाज उठ्नेछ।

आज आँसु बगिरहेको छ,

भोलि आगो बल्नेछ।


किनकि जब नागरिकता

माटोमा पुरिन्छ,

त्यो केवल कागज गुम्नु होइन—

त्यो आत्मसम्मानमाथिको प्रहार हो।


र जब आत्मसम्मान

बारम्बार कुल्चिन्छ,

त्यसले जन्माउँछ—

विद्रोह।


सुन सरकर !

जनतालाई कमजोर नठान,

उनीहरूको सहनशीलता

सीमाहीन छैन।


बर्षाको बीचमा

उठीबास लगाउने निर्णय

न्याय होइन—

यो त क्रूर मजाक हो।


बच्चाहरूको हातबाट

किताब खोस्ने,

बुढाबुढीको हातबाट

पहिचान खोस्ने—

यस्तो शासन कति दिन टिक्ला?


जब जनता उठ्छन्,

त्यो केवल आन्दोलन हुँदैन,

त्यो इतिहास बन्छ।


त्यो दिन

सडकहरू बोल्नेछन्,

माटोले साक्षी दिनेछ,

र दबिएका आवाजहरू

आकाश चिर्दै निस्कनेछन्।


'हामी नागरिक हौँ!'

भन्ने स्वर

बज्रझैँ गुञ्जिनेछ।


त्यसैले रोक

यो स्वेच्छाचारी चाल,

फर्क

मानवतामा,

सम्झ

शासनको अर्थ 

सेवा हो,

दमन होइन।

नत्र—

माटोमुनि पुरिएका कागजहरू

एकदिन झन् ठूलो स्वरमा बोल्नेछन्,

र त्यहीँबाट

विद्रोह अंकुराउनेछ।

मिनाकुमारीहरुको मौन प्रतीक्षा

अब केवल प्रतीक्षा होइन—

त्यो चेतावनी हो।

भद्रपुर, सुकृतिनगर