काठमाण्डौ  ।  काठमाण्डौ महानगरपालिकाको समन्वयमा संघीय सरकारले खोला किनारका अनाधिकृत संरचना हटाउने अभियान तीव्र बनाइरहेका बेला अनामनगरस्थित धोबीखोला किनारमा रहेको एक चर्चित साततले भवन भत्काइएको छ। उक्त भवनका मालिक इन्द्रकुमार चाम्लिङ लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको भन्दै सो भवनमा डोजर चलाएको हो। मापदण्डविपरीत रहेको निष्कर्षसहित डोजरमार्फत भवनका चार तला भत्काइएको छ। खोला किनारका अवैध संरचना हटाउने अभियानअन्तर्गत उक्त कारबाही गरिएको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार चाम्लिङको घरबाट प्रहरी पोसाक, आर्मी कम्ब्याट ड्रेस तथा हतियारजस्ता देखिने सामग्री बरामद भएपछि उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। बरामद सामग्रीको प्रकृति र प्रयोगबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाम्लिङसँग सोधपुछ भइरहेको छ। आवश्यक कागजी प्रक्रिया पूरा गराएर उनलाई बोलाएको समयमा उपस्थित हुने सर्तमा छाड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सरकारले खोला किनारका अतिक्रमित संरचना हटाउने अभियानलाई निरन्तरता दिने बताएको छ। यस अभियानसँगै सार्वजनिक जग्गा अतिक्रमण र अवैध निर्माणबारे कडाइ गरिने संकेत पनि देखिएको छ।