काठमाडौं— एपिएफ स्कूलको करोडौँ रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका लीलाबहादुर लामा तामाङको अर्को चकित पार्ने कर्तुत सार्वजनिक भएको छ। यसपटक उनीमाथि तीन दशकदेखि पर्यटन क्षेत्रमा प्रतिष्ठा कमाएको हिमाल रिजाइन प्रा.लि.लाई योजनाबद्ध रूपमा कब्जामा लिएर करोडौँ रुपैयाँको आर्थिक क्षति पुर्‍याएको आरोप लागेको छ।

स्रोतका अनुसार लाजिम्पाटस्थित पालु रेष्टुरेन्ट तथा एमडी एडभेन्चर टुर एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका लामाले गत वर्ष कम्पनीको ७५ प्रतिशत शेयर किन्ने प्रस्ताव राख्दै सञ्चालक विष्णु अधिकारीको विश्वास जितेका थिए। सुरुमा लगातार हिमाल रिजाइनबाट ठूलो परिमाणमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दै विश्वास निर्माण गरेका उनले राजनीतिक पहुँच र प्रभावशाली व्यक्तिसँगको सम्बन्ध देखाएर अधिकारीलाई झन् ढुक्क बनाए। लिखित शेयर सम्झौता भएपछि भने उनले कम्पनीको 'आइटा' प्रणालीको युजर आईडी र पासवर्ड हात पार्दै आफ्नै पुरानो कम्पनीका सयौँ यात्रुको टिकट हिमाल रिजाइनको खाताबाट काट्न थाले। तीन महिनामै झण्डै तीन करोड रुपैयाँ बराबरको टिकट जारी गरिएको दाबी गरिएको छ।

lila_lama_2_69MrJ1i5Ft

यस घटनापछि हिमाल रिजाइनको करिब साढे दुई करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी जोखिममा परेको छ भने कम्पनीका संस्थापक अधिकारीको व्यक्तिगत सम्पत्तिसमेत लिलामीको अवस्थामा पुगेको बताइन्छ। कम्पनीको मूल्यांकनअनुसार ७५ प्रतिशत शेयरबापत तिर्नुपर्ने ७५ लाख रुपैयाँमध्ये लामाले हालसम्म एक रुपैयाँ पनि नतिरेको आरोप छ। उनले रकम तयार रहेको भन्दै चेकको फोटो पठाए पनि वास्तविक भुक्तानी कहिल्यै नगरेको पीडित पक्षको भनाइ छ।

यता, लामा अहिले भने हिमाल रिजाइन प्रकरणमा होइन, एपिएफ स्कूलको सातदेखि आठ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीको हिरासतमा रहेका उनीमाथि प्रेमिकासमेत रहेकी एपिएफ स्कूलकी लेखापाल इन्सपेक्टर कल्पना गुरुङसँग मिलेर रकम हिनामिना गरेको अनुसन्धान चलिरहेको छ। उता, आफू ठगिएको दाबी गर्ने विष्णु अधिकारी परिवार भने अब कानुनी बाटोबाट रकम असुल्ने तयारीमा जुटेको छ। परिवारका अनुसार लामाले विश्वासलाई हतियार बनाएर कम्पनी मात्रै होइन, तीन दशकको मेहनत र प्रतिष्ठामाथि नै प्रहार गरेका छन्।

lila_lama_3_cRoB2w1hJp