काठमाडौं। भारतको शक्तिशाली सिन्धिया राजपरिवारमा चार दशकदेखि अदालतमा अल्झिएको बहुचर्चित सम्पत्ति विवाद अन्ततः समाधानको चरणमा पुगेको छ। यो सहमतिले नेपालको राजनीतिक वृत्तमा पनि चासो बढाएको छ, किनभने राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जंगबहादुर राणाकी पत्नी उषा राजे राणा पनि उक्त सम्पत्तिकी कानुनी हिस्सेदार हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले सहमति अनुमोदन गरेपछि अर्बौं रुपैयाँ बराबरको सम्पत्ति औपचारिक रूपमा बाँडफाँड हुनेछ। हेरौं यो रिपोर्ट। 

सन् १९६१ मा महाराजा जीवाजीराव सिन्धियाको निधनपछि सुरु भएको सम्पत्ति विवाद सन् १९८४ मा अदालत पुगेको थियो। त्यसयता ग्वालियरदेखि दिल्ली, मुम्बई र पुणेसम्मका अदालतमा यो मुद्दा चार दशकभन्दा बढी समय चल्यो।

समयसँगै पहिलो पुस्ताका अधिकांश पक्षकारको निधन भएपछि अहिले ज्योतिरादित्य सिन्धिया र उनका फुपुहरू बसुन्धरा राजे, यशोधरा राजे तथा उषा राजे राणाबीच अन्ततः सहमति जुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सम्झौताअनुसार अहिले जुन सम्पत्ति जसको भौतिक नियन्त्रणमा छ, त्यसैलाई कानुनी स्वामित्व दिने सूत्रमा सबै पक्ष सहमत भएका छन्। यही आधारमा दिल्लीको सफदरजंग रोडस्थित बहुमूल्य बंगला उषा राजे राणाको स्वामित्वमा जाने भएको छ। ग्वालियरको जय विलास प्यालेस परिसर, मुम्बईका लक्जरी फ्ल्याट, पुणेको पद्मा विलास र अन्य सम्पत्तिको पनि यही आधारमा बाँडफाँड गरिनेछ।

सम्झौतामा ऐतिहासिक तथा धार्मिक सम्पदालाई पनि समेटिएको छ। राजमाता विजयाराजे सिन्धियाले पूजा गर्दै आएको दुर्लभ पन्नाको शिवलिङ्ग ज्योतिरादित्य सिन्धियालाई हस्तान्तरण गर्ने सहमति भएको छ भने सयौं किलो सुन–चाँदी तथा ऐतिहासिक कलाकृति परिवारका सदस्यबीच बाँडिनेछन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सिन्धिया परिवारको कुल सम्पत्तिको मूल्य १० हजार करोड भारतीय रुपैयाँभन्दा बढी रहेको अनुमान छ। प्रारम्भिक मूल्याङ्कनअनुसार उषा राजे राणाको हिस्सामा मात्रै नेपाली मूल्यमा ४० अर्बदेखि एक खर्ब रुपैयाँसम्म बराबरको सम्पत्ति पर्न सक्ने अनुमान गरिएको छ। यद्यपि वास्तविक मूल्य र स्वामित्व अदालतबाट अन्तिम प्रमाणीकरण भएपछि मात्रै सार्वजनिक हुनेछ।

भारतीय कानुनविद् वा राजनीतिक विश्लेषकले अदालतबाट सहमति अनुमोदन भएपछि मात्रै सम्पत्तिको अन्तिम स्वामित्व र मूल्य आधिकारिक रूपमा तय हुने बताएका छन् । 

चार दशकसम्म चलेको यो विवाद अब कानुनी रूपमा अन्त्य हुने चरणमा पुगेको छ। अदालतले सहमति अनुमोदन गरेसँगै भारतकै चर्चित शाही परिवारको सम्पत्ति विवाद इतिहास बन्नेछ। यसको प्रभाव नेपालसम्म देखिने अनुमान गरिएको छ, किनभने सिन्धिया परिवारकी सदस्य उषा राजे राणा राप्रपा नेता पशुपति शमशेर जंगबहादुर राणाकी पत्नी हुन्। यससँगै राणा परिवारको आर्थिक हैसियतमा उल्लेखनीय परिवर्तन आउन सक्ने चर्चा पनि सुरु भएको छ।

ग्वालियर जिल्ला अदालतले सहमति अनुमोदन गरेपछि चार दशक लामो यो कानुनी विवाद औपचारिक रूपमा अन्त्य हुनेछ। त्यसपछि मात्रै सम्पत्तिको अन्तिम विवरण र प्रत्येक सदस्यको वास्तविक हिस्सा सार्वजनिक हुने भारतिय सञ्चारमाध्ययमहरुले बताएका छन् ।