नवलपरासी पश्चिम नवलपरासीका उखु किसानले उत्पादन गरेको उखु उद्योगले लगिसके, तर त्यसको पैसा भने अझै किसानको हातमा पुगेको छैन। करोडौँ रुपैयाँ उखु किसानको पसिना चिनीमा परिणत भयो, तर त्यसको मूल्य अझै उद्योगमै थन्किएको छ। पश्चिम नवलपरासीका किसानले वर्षौँअघि बिक्री गरेको उखुको रकम नपाउँदा खेती धान्नै कठिन भएको गुनासो गरेका छन्।
सरकारले कृषि उपज खरिद गरेको २५ दिनभित्र किसानलाई भुक्तानी गर्नुपर्ने नियम लागू गरे पनि चिनी उद्योगहरूले त्यसलाई बेवास्ता गरेका छन्। प्रशासनको रोहबरमा पटक–पटक सहमति भए पनि व्यवहारमा किसानले रकम पाएका छैनन्।
हाल लुम्बिनी चिनी मिलले करिब १७ करोड, इन्दिरा सुगर मिलले ६ करोड र बागमती चिनी मिलले करिब १७ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको किसान संगठनहरूको दाबी छ। यसबाहेक सरकारले निर्धारण गरेको समर्थन मूल्यसमेत धेरै किसानले अझै प्राप्त गर्न सकेका छैनन्।
उद्योग सञ्चालकहरू भने चिनीको बिक्री सुस्ताएका कारण नगद अभाव भएको भन्दै रकम किस्ताबन्दी रूपमा तिर्ने बताइरहेका छन्। तर किसानहरू यस्तो आश्वासनले अब पेट नभरिने भन्दै तत्काल भुक्तानीको मागमा अडिग छन्।
राष्ट्रिय कृषि श्रमिक संघका अनुसार अब समस्या वार्ताबाट मात्र समाधान हुने अवस्था नरहेकाले साउनको पहिलो सातादेखि काठमाडौंमा आन्दोलन सुरु गरिनेछ। कृषि मन्त्रालयमा दबाब दिने, माग नसुनिए माइतीघर मण्डलामा धर्ना र थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको छ।
प्रशासनले उद्योगसँग पुनः छलफल गरी बाँकी रकम दिलाउने आश्वासन दिएको भए पनि किसानहरूको विश्वास कमजोर बन्दै गएको छ। किसानहरूको भनाइ छ—"उखु हामीले फलायौं, चिनी उद्योगले बेच्यो, तर पैसा अझै किन रोकियो?"





































