काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विरुद्ध सरकारसमक्ष औपचारिक उजुरी परेको छ। तनहुँका एक शिक्षकले गीतले शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाको गरिमामाथि आघात पुर्याएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयमा प्रतिबन्धको मागसहित लिखित निवेदन दिएका हुन्।
तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले मन्त्रालयमा दर्ता गराएको निवेदनमा उक्त गीतमा प्रयोग भएका शब्द र प्रस्तुतीकरणले शिक्षण पेसाको सम्मानमा आँच पुर्याएको दाबी गरेका छन्।
निवेदनमा गीतले महिला शिक्षकको छविलाई अमर्यादित बनाएको तथा सामाजिक र सांस्कृतिक मूल्यविपरीत सामग्री प्रस्तुत गरेको उल्लेख गर्दै गीतमाथि आवश्यक कारबाहीसहित प्रतिबन्ध लगाउन माग गरिएको छ।






































