काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या आधाभन्दा बढी घटाए पनि मन्त्रीहरूको संख्या भने यथावत् राखेको छ। १४ मन्त्रालयलाई ८ मा सीमित गरेसँगै अहिले ६ जना मन्त्री कुनै पनि विभागको जिम्मेवारीबिनै बिनाविभागीय मन्त्री बनेका छन्।
मुख्यमन्त्री इन्द्र बानियाँ नेतृत्वको सरकारले प्रशासनिक खर्च घटाउने र सरकारी संरचना चुस्त बनाउने भन्दै मन्त्रालय पुनर्संरचना गरेको हो। तर नयाँ संरचना लागू भएसँगै किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनुकुमारी रायमाझी पौडेल विभागीय जिम्मेवारीविहीन बनेका छन्।
सरकारले उनीहरूको जिम्मेवारी आगामी मन्त्रिपरिषद् बैठकबाट टुंगो लगाइने जनाएको छ। उता प्रदेशमा कांग्रेस–एमाले सत्ता सहकार्य र नयाँ राजनीतिक समीकरणबारे छलफल चलिरहेका बेला मन्त्रालय पुनर्संरचनाले प्रदेश राजनीतिमा नयाँ बहस सुरु गरेको छ।






































