काठमाण्डौं / उपाध्यक्ष र वडाध्यक्षको अवस्थासमेत अज्ञात, तीन वडाका करिब ४० प्रतिशत नागरिक सम्पर्कबाहिरस अध्यक्ष भन्छन्– ‘क्षतिको आकार अकल्पनीय छ’
भोटेकोशीको बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाई यति ठूलो संकटमा धकेलेको छ कि स्थानीय नागरिक मात्र होइन, जनप्रतिनिधिकै अवस्था यकिन हुन सकेको छैन। गाउँपालिका उपाध्यक्ष र एक वडाध्यक्ष सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भइरहेका बेला वडा नम्बर २, ३ र ५ का ठूलो संख्याका नागरिकसमेत सम्पर्कबाहिर छन्। सञ्चार सम्पर्क टुटेका कारण कति मानिस सुरक्षित छन्, कति बेपत्ता छन् र कति उद्धारको पर्खाइमा छन् भन्ने वास्तविक तस्वीरसमेत राज्यसँग छैन।
बुधबार बिहान तिब्बततर्फबाट आएको आकस्मिक बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो विनाश मच्चाएपछि गोसाइँकुण्ड गाउँपालिका सबैभन्दा प्रभावित स्थानीय तहमध्ये एक बनेको छ। गाउँपालिका–६ का वडाध्यक्ष दावा सिदार वाइबाका अनुसार स्याफ्रुबेँसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन। सडक र सञ्चार दुवै अवरुद्ध भएकाले धुन्चेमा रहेका जनप्रतिनिधिले प्रभावित क्षेत्रको वास्तविक क्षतिसमेत प्रत्यक्ष रूपमा बुझ्न सकेका छैनन्।
तीन वडामा ४० प्रतिशत सम्पर्कविहीन ?
गोसाइँकुण्ड गाउँपालिका–२, ३ र ५ बाढीबाट बढी प्रभावित भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। वडा नम्बर २ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार यी तीन वडाका करिब ४० प्रतिशत नागरिक सम्पर्कविहीन रहेको अनुमान छ। उनका अनुसार करिब ६० प्रतिशत मानिससँग क्रमशः सम्पर्क हुन थाले पनि तत्काल उद्धार आवश्यक पर्ने अवस्था छ।
तर यहाँ तथ्यको अर्को पाटो पनि छ। ४० प्रतिशत भन्ने संख्या आधिकारिक अन्तिम गणना होइन। सञ्चार सम्पर्क विच्छेद भएका कारण यो स्थानीय जनप्रतिनिधिको प्रारम्भिक अनुमान हो। प्रभावित क्षेत्रमा उद्धार टोली पुगेपछि मात्रै वास्तविक संख्या खुल्ने अवस्था छ।
त्यसैले अहिले प्रश्न संख्या कति भन्ने मात्र होइन—
ती मानिसहरू कहाँ छन् ?
कति सुरक्षित छन् ?
कति डाँडामा शरण लिएर बसेका छन् ?
कति उद्धारको प्रतीक्षामा छन् ?
र—
कति मानिसको अवस्था अझै अज्ञात छ ?
टिमुरेमा ‘सबै सकियो’ भन्ने दृश्य, तर तथ्य खोज्नै बाँकी गोसाइँकुण्ड–२ का वडासदस्य पेमा दोर्जे घलेका अनुसार टिमुरेमा बाढी बिहान करिब ८ः३० बजेतिर ठूलो आवाजसहित आएको थियो। स्थानीयलाई प्रतिक्रिया जनाउने समयसमेत नदिई बाढीले बजार क्षेत्रमा ठूलो क्षति पुर्याएको उनको भनाइ छ। टिमुरेमा कति घर बगे, कति मानिस हराए र कति सुरक्षित स्थानमा पुगे भन्ने यकिन विवरण भने अझै आउन सकेको छैन।यही हो अहिलेको सबैभन्दा ठूलो समस्या।
बाढीको पानीले संरचना बगायो, सञ्चार टावर बन्द गरायो र सडक काट्यो। त्यसपछि तथ्य संकलन गर्ने राज्यको संयन्त्रसमेत प्रभावित भयो। जनप्रतिनिधि नै सम्पर्कविहीन भएपछि नागरिकको अवस्था के होला ? गाउँपालिका उपाध्यक्ष र एक वडाध्यक्षसमेत सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। उता नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीसमेत सम्पर्कविहीन रहेको विवरण यसअघि नै सार्वजनिक भइसकेको छ।
यसले विपद्को गहिराइ अझ स्पष्ट बनाउँछ। जहाँ नागरिकको खोजी गर्नुपर्ने जनप्रतिनिधिकै अवस्था थाहा छैन, जहाँ सुरक्षाकर्मीसँग सम्पर्क टुटेको छ, जहाँ स्थानीय प्रशासनले प्रभावित क्षेत्रको पूर्ण विवरण पाउन सकेको छैन—त्यहाँ वास्तविक क्षति कति होला ? प्रश्नले अहिले गोसाइँकुण्डलाई घेरेको छ।
हेलिकोप्टर पुग्यो, तर जमिनको खबर कहिले आउँछ ? प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरबाट खोजी तथा उद्धार प्रयास भइरहेको छ। तर कतिपय ठाउँमा हेलिकोप्टर अवतरण गर्नसमेत कठिन भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ। धुन्चेमा रहेका जनप्रतिनिधिले समेत प्रभावित क्षेत्रबाट हेलिकोप्टर फर्किएपछि मात्रै केही वास्तविक जानकारी प्राप्त हुने आशा गरेका छन्। अर्थात्— राज्यसँग हेलिकोप्टर छ, उद्धार टोली छस तर प्रभावित क्षेत्रमा पुगेर मानिसको यकिन अवस्था बुझ्न अझै चुनौती छ।
गोसाइँकुण्डमा अहिले सबैभन्दा ठूलो संकट ‘सूचनाको’
रसुवा बाढीमा अहिलेसम्म कम्तीमा सात शव फेला परेको र दर्जनौँ मानिस सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। तर माथिल्लो रसुवामा सञ्चार सम्पर्क टुटेका कारण मानवीय क्षतिको पूर्ण विवरण अझै स्पष्ट छैन। त्यसैले गोसाइँकुण्डको अहिलेको वास्तविक संकटलाई एउटा वाक्यमा भन्नुपर्दा— मानिस हराएका छन् कि सम्पर्क मात्र टुटेको हो भन्ने छुट्याउनसमेत कठिन अवस्था।
अब राज्यको पहिलो काम क्षतिको अनुमान गर्नु होइन। एक–एक बस्तीमा पुगेर मानिसको गणना गर्नु हो।
को जीवित छन्
को घाइते छन् ?
को उद्धारको पर्खाइमा छन् ?
को सम्पर्कविहीन छन् ?
र—
को साँच्चिकै बेपत्ता छन् ?
अन्तिम प्रश्न गोसाइँकुण्ड गाउँपालिका अध्यक्षले नै क्षतिको आकार अकल्पनीय रहेको बताइरहेका छन्। तर अकल्पनीय भनेर मात्र पुग्दैन। अब अकल्पनीय भनिएको क्षतिको वास्तविक तथ्यांक निकाल्ने जिम्मेवारी राज्यको हो। किनकि बाढीले बाटो काटेको छ। सञ्चार काटेको छ। बस्ती बगाएको छ। तर— राज्यले तथ्य खोज्ने बाटो काटिन दिन मिल्दैन।
गोसाइँकुण्ड अहिले एउटा स्थानीय तहको विपद् होइन। यो कति मानिस बाँचे, कति हराए र कति अझै उद्धारको प्रतीक्षामा छन् भन्ने जवाफ खोजिरहेको राष्ट्रिय संकट हो।




































