काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपिल जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला गण्डकी सरकारले आफ्नो तर्फबाट आर्थिक सहयोग घोषणा गरेको हो। मुख्यमन्त्री पाण्डेले विपद्को समयमा सबै पक्ष एकजुट भएर प्रभावितको उद्धार र राहतमा जुट्न आग्रह गरेका छन्।
उनले गण्डकीका उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो क्षमताअनुसार राहत तथा सहयोगमा सहभागी हुन अपिल गरेका छन्।
विपद्का कारण आफन्त सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता र त्रास बढेको भन्दै मुख्यमन्त्री पाण्डेले यस्तो अवस्थामा धैर्य र संयम अपनाउन आग्रह गरेका छन्।
त्यसैगरी बाढीको अवस्थाबारे अपुष्ट सूचना, अफवाह र भ्रामक सामग्री नफैलाउन पनि उनले आग्रह गरेका छन्। आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सार्वजनिक गर्न उनको अनुरोध छ।
मुख्यमन्त्री पाण्डेका अनुसार अहिलेको अवस्थामा मानवीय जीवनको रक्षा सबैभन्दा ठूलो प्राथमिकता हो। विपद्मा परेका नागरिकलाई तत्काल राहत र सहयोग पुर्याउन सबै तह र क्षेत्र एकजुट हुनुपर्ने उनले बताएका छन्।



































