काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको शव लगातार फेला पर्न थालेपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृहमा चाप बढेको छ । अस्पतालले अब थप करिब १० वटा शव मात्रै राख्न सकिने जनाएको छ ।अस्पतालका फोरेन्सिक विज्ञ डा। गोपाल चौधरीका अनुसार रसुवा बाढीपछि अहिलेसम्म ६० वटा शव त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । तीमध्ये ८ वटा शवको पहिचान भइसकेको छ भने २८ वटाको पोस्टमार्टम भइरहेको छ ।
अस्पतालको शवगृहको कुल क्षमता १५० भए पनि यसअघि नै करिब ८० वटा शव राखिएकाले बाढीबाट ल्याइएका शवका लागि उपलब्ध क्षमता तीव्र रूपमा घटेको हो । अहिले थप १० वटा शव आएपछि शवगृहको उपलब्ध स्थानसमेत भरिने अस्पतालको भनाइ छ ।बाढीमा ज्यान गुमाएकाहरूका शव कुहिएको तथा क्षतविक्षत अवस्थामा भेटिने क्रम बढेकाले पहिचान गर्नसमेत चुनौती देखिएको छ । शवलाई फ्रिज गरेर राख्दा पनि लामो समयसम्म सुरक्षित राख्न र पहिचान गर्न कठिन हुने फोरेन्सिक विज्ञहरूको भनाइ छ ।
यसैकारण अस्पतालले अब शव व्यवस्थापनका लागि तत्काल वैकल्पिक तथा अस्थायी शव भण्डारणस्थल पहिचान गर्न सरकारी तहबाटै प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिएको छ ।डा.चौधरीका अनुसार धेरै शवको अवस्था अत्यन्त क्षतविक्षत भएकाले सामान्य तरिकाले पहिचान गर्न कठिन भइरहेको छ । यस्तो अवस्थामा शवलाई लामो समयसम्म भण्डारण गरेर राख्नुभन्दा उपयुक्त विधिबाट व्यवस्थापन गर्नु आवश्यक हुने उनले बताएका छन् ।
भोटेकोशी बाढीपछि बेपत्ता भएकाहरूको खोजी जारी रहेकाले आगामी दिनमा थप शव फेला पर्न सक्ने अवस्था छ । त्यसैले शव आउने क्रम बढ्नुअघि नै भण्डारण, पहिचान र व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने चुनौती सरकारसामु थपिएको छ ।






































