चितवन । भोटेकोशी बाढीले बगाएर चितवन ल्याइएका पहिचान खुल्न नसकेका शवको व्यवस्थापन थालिएको छ । महामारीको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले शनिबार देवघाटको जंगलमा ९६ शव गाडेको हो ।चितवनमा शनिबारसम्म बाढीबाट २५९ जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तीमध्ये ९ वटा शव आफन्तले पहिचान गरी बुझिसकेका छन् भने बाँकी शवको पहिचान हुन सकेको छैन ।
शव राख्न पर्याप्त चिस्यान केन्द्रको व्यवस्था नभएका कारण शव सड्न थालेपछि संक्रमण तथा महामारीको जोखिम बढेको प्रशासनको निष्कर्ष थियो । त्यसपछि प्रशासनले बैठक बसेर पहिचान हुन नसकेका शवलाई सुरक्षित तरिकाले गाड्ने निर्णय गरेको हो ।तर, शव गाडिएसँगै पहिचानको सम्भावना भने समाप्त नहुने गरी प्रक्रिया अपनाइएको प्रशासनले जनाएको छ । हरेक शव गाड्नुअघि डीएनए नमुना संकलन गरिएको छ । त्यसपछि शवमा नष्ट नहुने संकेत नम्बर राखिएको छ ।
शव पुरिएपछि पनि आफन्तले भविष्यमा पहिचान गर्न सकून् भनेर सोही संकेत नम्बर बाहिरी भागमा समेत राखिएको छ । आफन्तको डीएनएसँग नमुना मिलेको अवस्थामा संकेत नम्बरका आधारमा सम्बन्धित शव पहिचान गर्न सकिने व्यवस्था मिलाइएको प्रशासनको भनाइ छ ।चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार शनिबार ९६ शव व्यवस्थापन गरिएको हो । बाँकी पहिचान हुन नसकेका शव गाड्ने काम आज पनि जारी रहनेछ ।
यसरी बाढीमा ज्यान गुमाएका व्यक्तिको तत्काल व्यवस्थापनसँगै भविष्यमा वैज्ञानिक प्रक्रियाबाट पहिचान गर्न सकिने प्रमाण सुरक्षित राखेर शव गाडिएको प्रशासनले जनाएको छ । मृतकका आफन्तले शव खोजिरहेका बेला चितवनमा भइरहेको यो व्यवस्थापनलाई तत्कालीन स्वास्थ्य जोखिम र भविष्यको पहिचान दुवैलाई ध्यानमा राखिएको कदमका रूपमा हेरिएको छ ।






































