गुल्मी । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि गुल्मीका चार स्थानीय तहले २२ लाख ९५ हजार ८०० रुपैयाँ सहयोग गर्ने भएका छन् । बाढी प्रभावित क्षेत्रमा राहत आवश्यक भइरहेका बेला गुल्मीका स्थानीय तहले आफ्नो तर्फबाट आर्थिक सहयोग जुटाएका हुन् ।
सहयोग गर्नेमा रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मालिका गाउँपालिका र मदाने गाउँपालिका छन् । रेसुङ्गा नगरपालिकाले सबैभन्दा बढी १० लाख रुपैयाँ, गुल्मीदरबार गाउँपालिकाले ५ लाख, मालिका गाउँपालिकाले ३ लाख र मदाने गाउँपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
यससँगै मदाने गाउँपालिकाका कर्मचारीहरूले पनि व्यक्तिगत रूपमा १ लाख ९५ हजार ८०० रुपैयाँ सहयोग गर्ने भएका छन् । पालिका र कर्मचारीको सहयोग जोड्दा कुल रकम २२ लाख ९५ हजार ८०० रुपैयाँ पुगेको हो ।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । कोषमार्फत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गुल्मीमा १२ स्थानीय तह रहेकामा हाल चार पालिकाले सहयोग घोषणा गरेका छन् । विपद्को समयमा स्थानीय तहबीचको सहयोग र एकताले प्रभावित नागरिकसम्म राहत पुर्याउन थप टेवा पुग्ने देखिएको छ ।






































