काठमाडौँ । भोटेकोशी बाढीको केन्द्र बनेको रसुवाको टिमुरेमा खोजी गर्दै जाँदा ६० वटा शव फेला परेका छन्, तर तीमध्ये एकजनाको मात्रै सनाखत भएको छ।
बाढीको सबैभन्दा ठूलो मानवीय क्षति देखिएको टिमुरेमा भग्नावशेष र नदी आसपासबाट शव निकाल्ने क्रम जारी छ। आफन्तले पहिचान गरेपछि एक शवको सनाखत भएको प्रहरीले जनाएको छ।
रसुवाको बेत्रावती क्षेत्रमा थप १७ शव भेटिएकामा पाँच जनाको पहिचान खुलेको छ। यससँगै रसुवामा मात्रै हालसम्म ७७ शव फेला परिसकेका छन्।
यसबीच टिमुरे भन्सार कार्यालयका नवकुल शर्माको शव भने गोरखाको त्रिशूली नदी किनारमा फेला परेको छ। शव भेटिँदैछन्, तर पहिचान पर्खिरहेका परिवारको पीडा अझै उस्तै छ। खोजी अभियानलाई प्रहरीले निरन्तरता दिएको छ।




































