काठमाडौं । रसुवामा गएको विनाशकारी बाढीले पुर्‍याएको धनजनको क्षति र सरकारले गरिरहेको खोजी, उद्धार, राहत र पुर्नस्थपनाको तयारीबारे सरकारले संसद्लाई जानकारी गराउने भएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने सभामुखको सचिवालयले जनाएको छ । तर कुन मन्त्रीले जानकारी गराउने भन्ने तय भएको छैन ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले भने, ‘सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने जानकारी आएको छ ।’

प्रतिनिधिसभाको बैठकमा आज सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्ने कार्यक्रम छ ।

भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा निावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।

एक हजार बढीको शव फेला परिसकेको छ । स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता भएका छन् ।

यस अगाडि सभामा राजनीतिक दलका नेताहरूले सम्बोधन  गर्नेछन् । नेताहरूको सम्बोधनपछि सरकारको तर्फबाट सम्बोधन गर्ने तयारी छ ।