बिर्तामोड / सरकारलाई आवस्यक परे आफ्ना दुई अस्पताल दिने घोषणा गरेका कांग्रेस नेता समेत रहेका सुनिल शर्मा संचालक रहेको काठमाण्डौको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले कोरोना संक्रमित बिरामीसँग चर्को शुल्क असुली गर्न थालेको छ ।
राजनिति अस्थिर र मुलुक कोरोनाले थलिएको बेला विराटनगर स्थित नोवेल मेडिकल कलेज र काठमाण्डौ मेडिकल कलेज कोरोना संक्रमित बिरामीको उपचारका लागि दिने घोषणा गरेर सर्वत्र वाहीवाही बटुलेका सुनिल शर्माले आफ्नो काठमाण्डौ स्थित अस्पतालमा कोरोना संक्रमित विरामीसँग अकुत असुलिरहेको सार्वजनिक भएको छ । कोरोना संक्रमित विरामीलाई क्याविन भर्ना गर्न लगाएर विरामीको ढाड सेक्ने गरी शुल्क असुल्न थालेको छ ।
प्रतिदिन एक विरामीबाट ३० हजार रुपैंया सम्म वेड चार्ज असुलिरहेको अस्पतालले नै जारी गरेको सूचनाले पुष्टि गरेको छ । अस्पतालको सूचनामा डवल वेड क्याविनको प्रतिदिन १० हजार रुपैंया , सिंगल वेड क्याविनको प्रतिदिन २० हजार रुपैंया , डिलक्स क्याविनको प्रतिदिन २५ हजार रुपैंया र सुपर डिलक्स क्याविनको प्रतिदिन ३० हजार रुपैंया शुल्क लाग्ने उल्लेख छ । महँगा तारे होटेलको जसरी अस्पताललाई वर्गिकरण गरेर महामारीका वेला लुट मच्चाउन थालेपछि अस्पताल पुगेका कोरोना संक्रमित फर्कन थालेका छन् ।
त्यसैगरी काठमाण्डौको धुम्बाराही स्थित ह्याम्स अस्पतालले पनि सुनिल शर्माले नै जसरी कोरोना संक्रमित विरामीबाट पैसा असुल्न थालेको छ । सुहृदराज घिमिरे र आरएस भण्डारीले संचालन गरेको अस्पतालले भने सुनिल शर्मालाई उछिन्दै एउटै बेडको ५० हजार रुपैंया सम्म असुल्न थालेको छ । अस्पतालले जारी गरेको सूचनामा सामान्य वार्डमा बस्ने कोरोनाका विरामीको प्रतिदिन एउटा बेडको शुल्क ७ हजार रुपैयाँ तोकिएको छ ।
ह्याम्सले त झन विरामीका आफन्तलाई ७ हजार देखि ५० हजार रुपैंया सम्मका रुमको शुल्क प्रस्तावको मञ्जुरी नामामा हस्ताक्षर समेत गराएर भर्ना गराइरहेको पाईएको छ । आफ्नो लुट धन्दालाई कानुनी वैधता दिन विरामीले उपचार खर्चको लागि लाग्ने रकमका विषयमा कुनै पनि निकायमा उजुरी गर्न नपाउने शर्तमा मात्रै विरामी भर्ना लिने गरेको छ ।
सो अस्पतालले त झन् आइसियुलाई समेत तारे होटल जसरी वर्गिकृत गरेको छ । आइसीयु स्विट रुमको एकै दिनको शुल्क ५० हजार रुपैयाँ रहेको उल्लेख छ । आईसीयु बेड शुल्क भने प्रतिदिन २२ हजार रुपैयाँ लाग्ने अस्पतालको सूचनामा उल्लेख छ ।




































