काठमाडौं । भोटेकोशी बाढीको त्रास हटिनसक्दै नेपाल नजिकै चीनको तिब्बत क्षेत्रमा ठूलो ताल बनेको खबरले नयाँ जोखिम देखाएको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम आसपास बनेको उक्त तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भएको छ।

यी दुवै नदी नेपालतर्फ आएपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिन्छन्। तालबाट पानी बाहिरिन थाले पनि आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुनसक्ने चिनियाँ अनुमान छ। यसले प्राकृतिक अवरोध कमजोर भए तालको बाँध फुटेर ठूलो बाढी आउन सक्ने जोखिम बढाएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको पानीको सतह र बाँधको अवस्था नजिकबाट निगरानी गरिरहेको छ। सम्भावित बाँध फुटेमा पानीको बहाव र प्रभाव कस्तो हुन सक्छ भन्नेबारे बाढीसम्बन्धी विश्लेषणसमेत भइरहेको ग्लोबल टाइम्सले जनाएको छ।

ताल फुटिसकेको भने होइन, तर नेपालमा भोटेकोशीको विनाशकारी बाढीले ठूलो क्षति गरिसकेको अवस्थामा सीमा क्षेत्रमा बनेको यो नयाँ पानीको भण्डारणले जोखिमप्रति थप सतर्क हुनुपर्ने अवस्था सिर्जना गरेको छ। अब मुख्य चासो तालको पानी कति बढ्छ र त्यसको सम्भावित प्रभाव नेपालतर्फ कस्तो पर्छ भन्नेमा केन्द्रित भएको छ।