नुवाकोट । भोटेकोशीको विनाशकारी बाढीले नुवाकोटमा घर र बस्ती मात्रै बगाएन, त्रिशूली नदी किनारको भूगोल नै बदलिदिएको छ। कुनै समय चहलपहल हुने त्रिशूली, ढुंगेबजार र देवीघाटका नदीकिनार अहिले भग्नावशेष, बालुवा र बगरमा परिणत भएका छन्। 

नदीको तीव्र कटानका कारण कतिपय घरको जगसम्मै खोतलिएको छ। बाढीको वेगले केही संरचना पूर्ण रूपमा बगाएको छ भने कतिपय भवन धरापमा उभिएका छन्। हिजोसम्म बस्ती रहेको ठाउँमा अहिले उराठलाग्दो बगर र थुप्रिएको माटो–बालुवा मात्र देखिन्छ।

बाढीको अर्को ठूलो प्रहार जलविद्युत् आयोजनाका संरचनामा परेको छ। नदीको अनियन्त्रित बहावले आयोजनाका महत्वपूर्ण संरचना बगाएपछि नुवाकोटमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। बिजुली बन्द हुँदा पहिले नै विपत्तिमा परेका नागरिकको दैनिक जीवन झन् कठिन बनेको छ।

बाढी र कटानका कारण सडकमार्गबाट आवतजावतसमेत प्रभावित भएपछि विभिन्न ठाउँमा नागरिक अलपत्र परेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सेनाले विदुर–४ दम्कीस्थित मैथली ब्यारेकलाई केन्द्र बनाएर एक दर्जनभन्दा बढी हेलिकप्टर परिचालन गरेको छ। फसेका नागरिकलाई हवाई माध्यमबाट सुरक्षित स्थानमा सार्ने काम जारी छ।

बाढीले सबैभन्दा ठूलो मानवीय संकट भने घरबारविहीन परिवारमा निम्त्याएको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार जिल्लामा मात्रै झण्डै १ हजार ५ सय परिवार विस्थापित भएका छन्। घर, सम्पत्ति र दैनिकी गुमाएका परिवार अहिले सुरक्षित बास र राहतको प्रतीक्षामा छन्।

त्रिशूली, ढुंगेबजार र देवीघाट क्षेत्रमा बाढीले पु¥याएको क्षतिले विपद्को भयावहता स्पष्ट देखाएको छ। बस्ती बगर बने, संरचना नदीमा मिसिए, जलविद्युत् आयोजना क्षतिग्रस्त भए र हजारौँ नागरिक विस्थापित भए।

अहिले तत्कालको प्राथमिकता उद्धार र राहत भए पनि त्यसपछि यी बस्तीको पुनस्र्थापना, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र विद्युत् सेवा पुनः सञ्चालन अर्को ठूलो चुनौती बन्ने देखिएको छ। बाढीले नुवाकोटमा छोडेको विनाशको दाग मेटाउन लामो समय लाग्ने अवस्था देखिएको छ।