काठमाडौं / राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को  ‘प्लेयर अफ द मन्थ’ मनोनीत भएका छन् । आईसीसीले क्रिकेटको तीनवटै स्वरुपमा गत् अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गरेका तीन जना खेलाडीको नाम मनोनीत गरेकोमा दुई जना पाकिस्तानी खेलाडीसँगै कुशल भुर्तेलसमेत मनोनीत भएका हुन् ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंलाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा गत् अप्रिल महिनामा पर्दापण गरे । डेब्यु प्रतियोगितामै लगातार तीन अर्धशतक लगाएर उनले विश्व कीर्तिमान बनाए ।

डेब्यु गर्दा लगातार तीन खेलमा अर्धशतक लगाउने उनी विश्वकै पहिलो ब्याट्सम्यान भए । अन्तर्राष्ट्रिय टी ट्वान्टीको पाँच खेलमा उनले २७८ रन बनाए । पहिलो प्रतियोगिता खेलेपछि मात्रै टी ट्वान्टीको विश्व वरीयताको एक सय ब्याट्सम्यानको सूचीमा भुर्तेल सूचीकृत भए ।

आईसीसीले जारी गरेको सूचीमा पाकिस्तानका बाबर आजम, फखार जमानसँगै कुशल भुर्तेल पनि मनोनीत भएका हुन् । बाबरले दक्षिण अफ्रिका विरुद्धको तीन एकदिवसीय श्रृंखलाको दुई खेलमा १०३ र ९४ रन बनाएका छन् । उक्त श्रृंखलामा उनी दुई पटक प्लेयर अफ द् म्याच घोषित भए । १०४ को स्ट्राइक रेटले उनले तीन खेलमा २२८ रन बनाएका छन् ।

उनले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा भारतका कप्तान विराट कोहलीलाई उछिनेर विश्व वरीयताको शीर्षस्थानमा उक्लिए । पाकिस्तानका जहीर अब्बास, जावेद मियाँदाद र मोहम्मद युसूफपछि विश्व वरियताको शीर्षस्थानमा उक्लिने उनी पहिलो क्रिकेटर हुन् ।

गत् अप्रिल महिनामा नै उनले दक्षिण अफ्रिका र जिम्बाबवे गरी दुई टोली विरुद्ध सात टी ट्वान्टी अन्तर्राष्ट्रिय खेले । जसमा उनले दुई अर्धशतकसहित ३०५ रन बनाए ।