रोल्पा / कोरोना रोकथाम र उपचारका लागि भन्दै यहाँका युवाले सहयोग उठाई औषधि र स्वास्थ्य सामग्री वितरण गर्न थालेपछि गङ्गादेव गाउँपालिकासँग विवाद भएको छ । स्थानीयवासी टेकम वलीले गाउँपालिका र स्थानीय प्रशासनको स्वीकृतिबिना अनियमितता गर्ने उद्देश्यले सहयोग सङ्कलन गर्न लागेकाले सो कार्य रोकेको गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले जानकारी दिए ।
वलीले १० लाख रुपैयाँ सहयोग उठाएर आफूखुशी १० हजार रुपौयाँको औषधि वितरण गर्न थालेपछि गाउँपालिकाले सो काम गर्न स्वीकृति नदिएको अध्यक्ष खत्रीको भनाइ छ । गाउँपालिका कार्यालयका कर्मचारी र आसपासका स्थानीयवासीलाई कोरोना देखिएपछि गाउँपालिकाले लकडाउन बाहेक उपचार र रोकथामका काम गर्न चासो नदिएपछि स्थानीय युवाको पहलमा अभियान थालनी गरेको वलीको भनाइ छ ।
जापान तथा साउदीमा रहेका गङ्गादेववासीले कोरोना महामारी रोक्नका लागि आर्थिक सहयोग गर्ने भनेपछि मास्क, स्यानिटाइजर, ग्लोब्सजस्ता स्वास्थ्य सुरक्षा सामग्री तथा सिटामोल जस्ता सामान्य औषधि खरिद गरेर स्थानीय आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको र एन्टिजेन कीट खरिदको कार्य भइरहेका बेला गाउँपालिका अध्यक्षले अभियानमा हस्तक्षेप गरेको वलीले बताए ।
गाउँपालिका र स्थानीय युवा समूहबीच भएको विवाद आफूसम्म आएको जनाउँदै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुझाइमा एकरुपता नआउँदा विवाद भएको बताए । महामारीका बेला औषधि वितरण गर्नुलाई अन्यथा नमानिए पनि स्वास्थ्यकर्मी बाहेकले औषधि वितरण गर्न नपाइने सापकोटाको भनाइ छ । उनले महामारी रोकथामका लागि रसिद काटेर चन्दा उठाउनुपूर्व अनिवार्य अनुमति लिनुपर्ने बताए ।
सो गाउँपालिकामा जिल्लाका स्थनीय तहमध्ये सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । सो गाउँपालिकामा १३ महिला र ३३ पुरुष गरी ४६ सङ्क्रमित छन् ।






































