बिर्तामोड / सञ्चारकर्मी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । आइतबार सुनारले मन्त्री श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन् । 

उनले कोठा भाडामा लिने र दिने मौखिक समहति भइसकेको अवस्थामा घरधनी सरस्वती प्रधानले आफू दलित समुदायको भएको बताएपछि कोठा दिन अस्वीकार गरेको रिटमा उल्लेख गरेकी छन् । 

उनले रिटमा संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही तथा मौलिक हकको संरक्षणको लागि आदेश जारी गर्न माग गरेकी छन् ।

यसैगरी रिटमा शिक्षामन्त्री श्रेष्ठले घरधनीलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले तत्काल उक्त पदबाट हटाइ निजमाथि जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव (कसुरसजाय) ऐनबमोजिम कारबाहीको माग गरिएको छ।