काठमाडौं / राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी राजश्व छलेको अभियोगमा तीन जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।     

विभागले चितवनको रत्ननगरमा सञ्चालित शिवशक्ति खाद्य उद्योगका सञ्चालक दिनेशकुमार अग्रवाल, सीमा अग्रवाल र थपलिया ट्रेड सप्लायर्सका प्रोप्राइटर रामप्रसाद थपलिया विरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।  

उनीहरूबाट ९ करोड २७ लाख ३७ हजार ५६० रुपैयाँ बिगो माग गरिएको विभागले जनाएको छ। तीनै जनालाई बिगो, बिगो बराबरको जरिवाना र कैद सजाय माग गरिएको छ। 

उनीहरूले वास्तविक खरिदबिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश र आयकर छलेको देखिएको विभागले जनाएको छ। 

उनीहरूले मूल्य अभिवृद्धि कर ६ करोड ८६ लाख ७ हजार २५३ रुपैयाँ र आयकर २ करोड ४१ लाख ३० हजार ३०७ रुपैयाँ छलेको विभागले जनाएको छ।