काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्।  आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। 

विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले बताए। देउवाले विश्वासको मत प्राप्त गरेको सभामुख सापकोटाको भनाइ छ। आज प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन्। एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए।

सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले २८ असार २०७८ मा पुनःस्थापना गर्ने फैसला सुनाएको थियो। 

प्रतिनिधि सभाका १४६ जना सांसदहरुले दायर गरेको रिटमा गरिएको मागदाबी अनुसार सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत परमादेशको आदेश जारी गरेको थियो। 

सर्वोच्चको आदेशपछि देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले अब प्रतिनिधि सभाको यो कार्यकालभर सरकार चलाउनेछन्।