काठमाडौँ / नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल सहितका सांसदलाई  कारवाही गर्ने  जनाएको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता नेपाल सहितका सांसदले पार्टी विधिविधान र निर्णय विरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिएका छन् । आइतबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा एमालेका २२ सांसदले पार्टी निर्णयविरुद्ध विश्वासका पक्षमा मतदान गरेका थिए। बैठकले स्पष्टीकरण २४ घण्टाभित्र पेश गर्न भनिएको छ । स्पष्टीकरणका आधारमा कारवाही प्रक्रियाबारे निर्णय हुने उनले बताएका छन् ।

हामीले हिजो संसद्मा भएको समग्र घटनाक्रमलाई नेपालले हासिल गरेका अग्रगतिका प्रयासमाथि एक खालको धक्काका रुपमा लिएका छौँ”, उनि भन्छन्, “पार्टीका केही सांसदहरुले पार्टी निर्णयको अवज्ञा गर्दै फ्लोरक्रस गर्ने र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जुन काम गर्नुभयो । पार्टी अनुशासनको दृष्टिले र कम्युनिष्ट आन्दोलन, जनताको भावनाका सबै दृष्टिले सर्वथा अनुचित, अनुशासनहिन र गलत कार्य भनेको छ ।

दश बुँदे सहमतिलाई स्थायी कमिटी बैठकले गरेको अनुमोदनलाई आज बसेको बैठकले पनि अनुमोदन गरेको छ। उनले १० बुँदे सहमति अनुसार नै पार्टीलाई एकताबद्ध बनाउने निर्णयसमेत बैठकले गरेको बताएका छन् । दश बुँदे अर्को पार्टीलाई मत दिऔँ, पार्टीको निर्णय अवज्ञा नगर भनेको छैन”, उनि भन्छन् , “१० बुँदेले पार्टीलाई एकताबद्ध बनाउने हो । उहाँहरुले संसद्मा हिजो जे गर्नुभयो त्यो गलत हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रम बारे आफ्नो अभिव्यक्ति राखेका थिए । उनले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास मत लिने क्रममा संसद्मा देखिएको परिदृश्य र त्यसले पार्टीको जीवनमा पारेको प्रभावबारे चर्चा गरेको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिएका छन् ।

असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमा नै आजको बैठक बसेको उनको भनाइ थियो । विसं २०७५ जेठ २ गतेपछिको निरन्तर अहिलेको बैठक भएको उनले बताएका छन् । जेठ २ गते नवौँ बैठक डाकिएको थियो। उनले पार्टीभित्र विभिन्न समस्या उत्पन्न र विमति हुने जनाउँदै पार्टीका उपाध्यक्ष भीमबहादुर रावलले सांसद पदबाट राजीनामा दिन नहुने भनाइ राखेका छन् ।  प्रवक्ता ज्ञवालीका अनुसार बैठक भोलि ३ बजे फेरि बस्नेछ ।