बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहन प्रसाद ओलीले फागुनपछि आफ्नो छोरो पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । 

मोहनप्रसादले पत्रकारसँगको कुराकानीमा छोरालाई आफूले आशीर्वाद दिएको भन्दै फागुनपछि पुनः पाँच वर्ष एकलौटी सरकार चलाउनेगरी छोरो प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् । 

मोहनप्रसादले भने, –‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउने गरी, हेरि राख्नुस् ।’

ओलीलाई सत्ताबाट षड्यन्त्र गरेर हटाएपनि जनताले फेरि सत्तामा पुर्‍याउने भन्दै उनले आफ्नो आशीर्वाद सधैँ रहेको बताए । दुईपटक मिर्गौला फेरेका छोरोलाई अझै २० वर्ष केही नहुने समेत उनले दावी गरे ।

ओली काठमाडौँबाट विशेष कार्यक्रमका लागि आज गृह जिल्ला झापा आएका छन् । उनी चन्द्रगढी विमानस्थलबाट सीधै ९० वर्षीय बुबा मोहनप्रसादलाई भेट्न भद्रपुर नगरपालिका –१ स्थित पृथ्वीनगर पुगेका थिए ।