बिर्तामोड / सरकारले बाढी पहिरोबाट भएको क्षतिलाई गम्भीरतापूर्वक लिएकाले तत्काल ‘रिलिफ प्याकेज’ ल्याउने प्रधानमन्त्री देउवाले बताएका छन् ।  

बेमौसमी वर्षाका कारण प्रदेश १ का जिल्लामा परेको क्षतिको आज  निरीक्षण गर्न इटहरी आएका प्रधानमन्त्री देउवाले सरकारले ‘रिलिफ प्याकेज’ ल्याउने बताएका हुन् । 

उनले अहिले सरकारको प्राथमिकता नै बाढी पहिरोबाट परेको क्षति न्यूनिकरणमा रहेको बताए । यसले पारेको क्षति न्यूनीकरणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उनको भनाइ छ । 

उनले बेमौसमी प्रकोपको प्रभाव पूर्वदेखि पश्चिमसम्म परेकाले सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको बताए ।

‘सुदूरपश्चिमबाट मध्यपश्चिमका जिल्लाहरूमा बाढी, पहिरो र डुबान भएको छ’, प्रधानमन्त्री देउवाले भने, –‘पूर्वमा पनि त्यस्तै अवस्था भेटियो । पहाडमा पहिरो र बाढीले प्रभाव परेको रहेछ यता (सुनसरीसहित तराईका जिल्लामा) डुबान भएको पाइयो ।’

तत्काल तीनै तहका सरकारको अन्तरसमन्वयबाट उद्धार, राहत र उपचारमा सरकारको ध्यान गएको प्रधानमन्त्री देउवाले बताए ।

प्रधानमन्त्री देउवासँगै सङ्घीय सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र पूर्वउपप्रधानमन्त्री विजयकुमार गुच्छादार पनि क्षतिको निरीक्षण गर्न प्रदेश १ आएका थिए ।