बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृह जिल्लामा उपस्थिति बढाउँदै लगेका छन् । सर्वोच्च अदालतको आदेशमा सत्ताच्युत बनेपछि भावी निर्वाचनलाई लक्षित गर्दै ओलीले आफ्नो गृहजिल्लामा उपस्थिति बढाएका हुन् ।
झापाकै गिरीबन्धु टि स्टेट जग्गा प्रकरण र सुपारी आयातमा आर्थिक लाभ लिएको आरोप लागेकाले पार्टीलाई कमजोर हुन नदिन ओलीले जिल्लामा गतिविधि बढाएको अड्कल काट्न थालिएको छ । नेकपा विभाजन र आफ्नै जिल्लाका दुई ठुला विषयमा भ्रष्टाचारको आरोप लागेका ओलीले विगतमा जसरी नै आइतबार आयोजित कार्यक्रममा पनि प्रष्टिकरण भने दिएनन् ।
ओलीका नातामा नाति समेत पर्ने स्वास्थ्य उद्यमी दुर्गा प्रसाईँ सहितको समुहलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा सहभागि हुन आएका ओलीले सम्बोधनका क्रममा विगतमा नै जसरी आफू अनि आफ्नो दल बेथिति र भ्रष्टाचारको विरोधी भएको दावी गरेका छन् । तर उनले आफ्नै नेतृत्वको सरकारका पालामा भएका बेथिति र भ्रष्टाचारका विषयमा न कुनै जवाफ दिए , न त ति विषयमा सफाइका लागि कोसिस नै गरे ।
ओलीकै पूर्व सहकर्मी जगन्नाथ खतिवडाले बिर्तामोडमा नै आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार मदन भण्डारी र जिवराज आश्रितको हत्यामा ओली र राष्ट्रपति विध्यादेवी भण्डारीको भूमिका शंकास्पद रहेको आरोप लगाएका थिए । ओलीले आफ्नो सम्बोधनका क्रममा पूर्व सहकर्मी खतिवडाले लगाएको संगीन आरोपका विषयमा समेत कुनै टिप्पणी गरेनन् ।
आफू विरुद्ध बोल्नेको विषयमा सार्वजनिक रुपमा नै आलोचना अनि टिप्पणी गर्ने गरेका ओलीले मदन भण्डारी हत्याका विषयमा भएको छानविनको प्रतिवेदन लुकाएको भनेर लगाएको संगीन आरोपका विषयमा समेत मौनता साँध्दै माधव नेपाल र प्रचण्डमाथि लान्छना र आक्षेपको वर्षा गरेका थिए ।
ओलीले नेता नेपाललाई अपराधी र प्रचण्डलाई विध्वशंकारी भएको आरोप अनि आक्षेप लगाएका छन् । उनले अव हुने निर्वाचनमा प्रचण्ड र नेपालको पराजय निश्चित रहेको समेत दावी गरेका छन् । उनले नेपाललाई एमालेमा कुनै स्थान नरहेको बताउँदै उनीसँग रहेका अन्यलाई भने पार्टीमा आउन आग्रह गरेका छन् ।
एमालेको विधान अधिवेशनमा एमालेका प्रतिनिधिका रुपमा सहभागि बनेका नातामा आफ्ना नाति भनेर चिनिएका स्वास्थ्य उद्यमी दुर्गा प्रसाईँ सहितलाई औपचारिक रुपमा एमाले प्रवेश गराउन आयोजित कार्यक्रममा करिव ५ सय व्यक्ति एमालेमा प्रवेश गरेका छन् । केही समय यता प्रसाईँले समेत दलबल सहित शक्ति प्रदर्शन गर्न थालेको र उनलाई बिर्तामोडमा नै आएर पार्टी प्रवेश गराएकाले आगामी निर्वाचनमा ओलीले उनलाई अघि वढाउन खोजेको अनुमान गर्न थालिएको छ ।
प्रसाईँले पनि सम्बोधनका क्रममा युवालाई आश जोगाउने भावको मन्त्व्य राख्दै ओलीकै शैलीमा माओवादी र अन्य दलका नेतालाई आक्षेप र आरोप लगाएका थिए । प्रसाईँ विगतमा माओवादीमा अध्यक्ष प्रचण्ड निकट भनेर चिनिएका थिए । तर पार्टी विभाजन पछि ओली नजिक उनी पुगेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्ने अर्का वक्ता लेखराज भट्टले पनि ओलीकै शैलिमा प्रचण्डको आलोचना गर्दै उनीमाथि लान्छना र आरोप लगाएका छन् ।