बिर्तामोड / सर्वोच्च अदालतका १३ जना न्यायाधीशले आज प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग भेटवार्ता गर्ने भएका छन् । भेटेका क्रममा न्यायाधीशहरूले राणासँग राजिनामाको माग गर्ने बताइएको छ । 

वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा प्रधानन्यायाधीश राणालाई भेट्ने र त्यहाँ अर्का न्यायाधीश डा. आनन्दमोहन भट्टराईले राजीनामाको प्रस्ताव राख्ने भएका छन् ।

उनीहरूको पहिलो प्रस्तावमा प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ भन्ने हुनेछ । यदि प्रधानन्यायाधीश राजीनामा नदिएको खण्डमा प्रधानन्यायाधीशविरुद्ध पत्रकार सम्मेलनगरी इजलास बहिष्कार गर्ने औपचारिक धारणा राख्नेछन् । प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म बहिष्कार निरन्तर रहनेछ ।

प्रधानन्यायाधीशबाहेक काठमाडौँ उपलब्ध १३ जना न्यायाधीशले सोमबार नै इजलास र फुलकोर्ट बहिष्कार गरिसकेका छन् । आइतबारसँगै रहेका न्यायाधीश नहकुल सुवेदी भने सोमबार अनुपस्थित रहेका थिए । न्यायाधीश ईश्वर खतिवडा अमेरिका भ्रमणमा छन् ।

काठमाडौंबाहिर रहेका दुई न्यायाधीश अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानले तेह्र जना न्यायाधीशलाई इमेल पठाउँदै ‘निर्णयमा साथ र समर्थन रहेको’ उल्लेख गरेको एक न्यायाधीशले बताए । 

ती न्‍यायाधीशकाअनुसार, न्यायाधीशहरूलाई पठाएको इमेलमा न्यायाधीश सिन्हा र मल्लले भनेका छन्, ‘हामीहरू करिब दुई महिनाको तयारीपछि परिवारसहित खप्तडका लागि प्रस्थान गरेपश्चात त्यहाँ नयाँ परिस्थिति सृजना भएकोमा खत्तड क्षेत्रबाट सञ्चारको समस्याको कारण प्रत्यक्ष सम्पर्कमा रहन नसकेको अवस्था छ । 

न्यायपालिका लामो समयदेखि अनपेक्षित विवादबाट गुज्रनु अनपेक्षित थियो । तलका अदालतमा समेत देखिएका नियुक्तिलगायतका असन्तुष्टिहरू र सर्वोच्च अदालतमा न्यायसम्पादनसमेतमा देखिएका समस्याहरू आन्तरिक रूपमा नेतृत्वको पहलमा निकास निकाली समाधान गर्न सकारात्मक पहल हुनु आवश्यक थियो । 

तर, सार्वजनिक रूपमै न्यायपालिका प्रति जनआस्था स्खलित भएको आजको गम्भीर अवस्थामा हामी आफैँ तत्काल काठमाण्डौ पुग्न नसक्ने आवस्थामा सामूहिक रूपमा माननीयहरूले गर्ने  निर्णयमा हाम्रो साथ र समर्थक रहेको व्यहोरा जानकारी गराएका छौं ।’