काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका छन् ।
सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित बुधबारे बजारमा पार्टीले आयोजना गरेको शुभदीपावली, छठ तथा नेपाल संबत्को शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै ओलीले हुलाकी सडक संचालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका हुन् ।
हुलाकी सडकको काम आफू नेतृत्वको सरकारले सुरुआत गरेको प्रसङ्ग कोट्याउँदै ओलीले भने, –“हुलाकी सडक आफैँ बनाउँछु भनेर काम थालेको धेरै प्रतिशत काम सकिसकेको रहेछ । पूर्णरूपमा निर्माण भइसकेपछि हुलाकी सडक सम्झँदा मलाई सम्झिनु हुन्छ ।”
हुलाकी सडकमा पर्ने सीमावर्ती गौरीगञ्ज बजारलाई आफू प्रधानमन्त्री भएका बेलामा स्मार्टसिटीको रूपमा विकास गर्ने भनेर काम सुरु गरेको बताउँदै उनले अब देशभरिका स्मार्टसिटीका रूपमा गौरीगञ्जले छिट्टै फड्को मार्ने बताए ।