बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजिनामा दिनु पर्ने बताएका छन् । 

एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन् ।

पाँच जना न्यायाधीशहरू मिलेर परमादेश जारी गरेकाले पाँचै जना न्यायाधीशले पदबाट राजिनामा दिनुपर्ने ओलीले बताए । ओलीले भने, –‘एक जनाले मात्रै होइन परमादेश पाँच जनाले सर्वसम्मत फैसला गरेको हो । एक जनाले मात्रै किन राजीनामा गर्नु ? पाँचै जनाले राजिनामा दिनु पर्छ ।’

उनले पाकिस्तानी शैलीमा परमादेशबाट सरकार गठन हुन थालेपछि आज सर्वोच्च अदालतमा यस्तो  समस्या देखिएको बताए । 

संसद् विघटनको समयमा बार र वकिलले इजलास तोक्ने काम गरेको ओलीको आरोप छ । उनले भने, –‘यो न्यायाधीश राख्नु हुन्छ यो न्यायाधीश राख्नु पर्छ भन्ने, बस्छु भन्नेलाई हटाएको होइन ? बार र वकिलले बेन्च गठन गर्ने काम भयो ।’

गत असार २८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

उक्त आदेशमा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।