एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै जसरी कांग्रेस नेता शेर बहादुर देउवा नेतृत्वको सरकार पनि त्यही बाटोमा हिड्न थालेको छ । अघिल्लो सरकारले नै जसरी छानीछानी आफू निकटकालाई लाभका पदमा नियुक्तिको क्रममा देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दिएको हो ।
लाभका उच्च पद पदमा नियुक्ति गर्ने क्रममा सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सत्तारुढ दलभित्रको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निकटका विवादीत व्यक्ति इलामका युवराज अधिकारीलाई नियुक्त गरेको छ । नियममा ३४ वर्ष काम गरेका अधिकारी निगम रहँदा यौन हिंसाका घटनामा संलग्न रहेका थिए ।
०७४ सालमा अधिकारी निगमको अर्थ विभाग प्रमुख रहेको समयमा निगमका दुई महिला अधिकृतले आफू माथि यौन हिंसा गरेको भन्दै तत्कालीन निगम नेतृत्व , सरकारी निकाय र महिला आयोगमा उजुरी समेत दिएका थिए । यौन हिंसामा संलग्न रहेको खुलेपछि सरकारको निर्देशनमा निगमको नेतृत्वले अधिकारीलाई तत्कालीन समयमा निलम्बन समेत गरेको थियो ।
अधिकारी विरुद्ध परेको उजुरी सार्वजनिक नगर्न अधिकारीको परिवार र तत्कालीन एमाले नेताले दवाव दिएपछि पीडित महिलासँग माफी माग्दै तत्कालीन समयमा मिलापत्र गराएर उनलाई कानुनी कारवाहीबाट जोगाइएको थियो ।
बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई ४ वर्षका लागि निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको छ । निगमको सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले जेठ २८ मा राजीनामा दिएपछि अध्यक्ष पद खाली रहेको थियो ।
कार्यकारी अध्यक्षसँग निगमको सञ्चालक समितिदेखि व्यवस्थापनसम्बन्धी सबै निर्णय गर्ने अधिकार हुन्छ । अधिकारीको नियुक्तिप्रति निगमका निर्देशक तथा कर्मचारीहरूले भने आश्चर्य प्रकट गरेका छन् । ५० अर्ब ऋणमा रहेको निगममा कुशल नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्ति ल्याउनु पर्नेमा विवादीत व्यक्ति ल्याइएकोमा निगम भित्र विरोध सुरु भएको छ ।
त्यसैगरी सरकारले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा पनि अवकाशको मुखमा रहेका राजकुमार क्षेत्रीलाई नियुक्त गरेको छ । क्षेत्री हाल निमित्त महानिर्देशक रहेका थिए । अढाई महिनामा अनिवार्य अवकाश पाउँदै गरेका क्षेत्रीलाई पनि महानिर्देशक बनाइएकोमा निगम भित्र असन्तुष्टि बढेको छ ।