बिर्तामोड / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई मुख्य बटमलाइन बनाएका सर्वोच्च अदालतका १५ बहालवाला न्यायाधीशको बैठक आज बुधबार पनि बस्दैछ । 

न्यायालयमा देखिएको अहिलेको सङ्कटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकालेका न्यायाधीशहरूको बैठक बिहान साढे ११ बजे बस्न लागेको हो । न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिइसकेका छन् ।

मङ्गलबारको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडानमा कायमै रहने र थप निणर्यका लागि बुधबार छलफलमा जुट्ने निर्णय गरेको थियो । 

प्रधानन्यायाधीश जबराले तोक्ने कुनै पनि पेसी नहेर्ने न्यायाधीशले अडान लिएका छन् । मंगलबार बिहान मात्र न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई सामूहिक रूपमा भेटेर मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए । 

तर, जबराले ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको’ जवाफ फर्काएका थिए । जबराले राजीनामा नदिने बताएपछि न्यायाधीशहरू छलफलमा जुट्दै आएका छन् ।