बिर्तामोड / प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जारी रहेको चौधौं महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरूप मङ्सिर महिना भित्रै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार सिंहदरबारस्थित कांग्रेसको संसदीय कार्यालयमा पार्टीको पदाधिकारी र केन्द्रीय निर्वाचन समितिबीच भएको बैठकमा सभापति देउवाले मङ्सिरमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यक्रमहरू अगाडि बढाउन निर्देशन दिएको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए ।
‘महाधिवेशनको मिति पछाडि सर्ने भन्दा पनि मंसिर ९ देखि १३ गतेसम्म चौधौं महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा सभापति ज्यूले कडाइका साथ भन्नुभएको छ । एक, दुई दिन तलमाथि हुनसक्ला तर समयमै महाधिवेशन सम्पन्न हुनुपर्ने विषयमा छलफल भएको छ ।’