काठमाडौँ / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने भएकी छिन् । प्रदेशसभामा बहुमत नजुट्ने भएपछि मुख्यमन्त्री शाक्यले पदबाट राजिनामा दिने भएकी हुन् ।
शाक्यले गत कात्तिक ४ गते प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव टेबुल गरेकी थिइन् ।
विश्वासको मत माग्ने क्रममा विपक्षी दलहरूले उठाएको प्रश्नको जवाफ दिएर उनले सदनबाटै राजीनामा दिने प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठले जानकारी दिइन् ।
श्रेष्ठका अनुसार प्रदेशसभामा सम्बोधन गरेर शाक्य राजीनामा बोकेर प्रदेश प्रमुखको जाने तय भएको बताइन् । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा)का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् ।
प्रदेशसभामा नयाँ सरकार बनाउन र टिकाउन ५५ मत भए पुग्छ । विपक्षी गठबन्धनसँग ५९ मत रहेको छ । ३ मत रहेको विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताएको छ । दुई/दुई मत रहेको नेपाल मजदुर किसान पार्टी, राप्रपाले कुनै प्रतिक्रिया दिएका छैनन् ।