काठमाडौँ / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले पदबाट राजिनामा दिएकी हुन् ।

प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि शाक्यले राजिनामा दिएकी हुन् । शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठले जानकारी दिइन् । 

प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् ।

प्रदेशसभामा नयाँ सरकार बनाउन र टिकाउन ५५ मत भए पुग्छ । विपक्षी गठबन्धनसँग ५९ मत रहेको छ ।