धनगढी / नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् ।
बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले केपीले ओलीले परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत भएको बताएका छन् ।
अर्ली इलेक्सन हुँदैन, अहिले हुने प्रतिनिधिसभाको उपचुनाव हुन्छ, राष्ट्रिय सभाको चुनाव हुन्छ अध्यक्ष नेपालले भने, हामी अहिलेकै गठबन्धनबाट चुनावमा जाने सोचमा छौँ ।
एमालेसँग एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धन बनाएर चुनाव लड्न खोज्नु भएको हो भन्ने प्रश्नमा उनले हिजो एमालेले पनि राप्रपा र माओवादीसित गठबन्धन गरेको स्मरण गरे ।
अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तत्काल परिवर्तन नहुने संकेत गरेका छन् । तीन पार्टीले दुई/दुई मुख्यमन्त्री लिने भन्ने छ उनले भने, अन्तिमतिर केही हुन्छ कि सल्लाह हुँदैछ ।
अध्यक्ष नेपाल कञ्चनपुरको पार्टी कार्यालयको उद्घाटन गर्नका लागि सुदूरपश्चिम आएका हुन् ।