बिर्तामोड / प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधका कारण बिहीबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । 

२ बजे सुरु भएको बैठकमा एमालेले अवरोध र नाराबाजी गरेपछि १२ मिनेट बसेर कात्तिक २९ गते सम्मलाई स्थगित गरिएको हो । 

सभामुख सापकोटाले पटक पटक बैठक सञ्चालनको वातावरण बनाउन अनुरोध गरे पनि एमालेका सांसदहरुले अवरोध गरिरहेका छन् ।

आज पनि एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटाको आसन अगाडि पुगेर गैर सांसदलाई संसद्मा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाएका थिए ।

एमालेको अवरोधकाबीच सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा  आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा राष्ट्रपति स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए ।  

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । 

यस्तै प्रतिनिधिसभाको बैठकमा बिरामी भएर उपचारका कारण प्रतिनिधिसभाको १३ वटा बैठकमा अनुपस्थित भएका झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितिको सूचना स्वीकृत गरेको छ ।