काठमाडौं / नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइतबारबाट धर्ना दिने भएको छ ।
नेपाल बारको केन्द्रीय कार्यसमिति बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी आइतबार देखि बुधबार सम्म पाखुरामा कालोपट्टि बाँधेर धर्ना दिने निर्णय गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।
त्यसैगरी आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ ।
बुधबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा नेपाल बारले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने उपाध्यक्ष बस्यालले बताइन् ।
बस्यालले उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरूलाई आह्वान समेत गरेकी छिन् ।