जनकपुरधाम  / दशैं सम्पन्नलगत्तै प्रदेश २ सरकार विस्तार हुने भनिए पनि विस्तार कार्य अझ अन्योलमा परेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनुभन्दा अघिदेखि नै तयारी गरिरहेका छन् । तर, मन्त्रालयको टुंगो नलाग्दा औपचारिक छलफलसमेत हुन सकेको छैन।

मुख्यमन्त्री राउतले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)लाई सरकारमा ल्याउन ६ मन्त्रालयलाई टुक्रयाएर १० पुर्‍याएका छन् । आकर्षक मन्त्रालयहरू कांग्रेस र माओवादीले लिइसकेको बाँकी रहेको दुई मन्त्रालय लिन नेकपा (एस) इच्छुक देखिएको छैन।

जसपाको भागमा रहेको महत्वपूर्ण मन्त्रालयमा नेकपा (एस)ले दाबी गर्दा सरकार विस्तार लम्बिएको हो । मुख्यमन्त्री राउतले कानून, न्याय तथा प्रदेशसभा र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । यी दुई मन्त्रालय लिएर नेकपा (एस) सरकारमा सहभागी हुन चाहेको छैन ।

मुख्यमन्त्री राउतले नेकपा (एस)लाई सरकारमा ल्याउन सामाजिक विकास मन्त्रालयलाई विभाजन गर्ने गृहकार्य थालेका छन् । तर, मन्त्री पद जोगाउन खेमा परिवर्तन गरेर आएका नवल किशोर साह रुष्ट हुने सम्भावना बढेको छ ।

अहिले प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय, कांग्रेस तीन र माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।